Google Play का सेवाका सर्तहरू

मार्च १५, २०२३ (अभिलेखमा राखिएको संस्करण हेर्नुहोस्)

१. परिचय

लागू हुने सर्तहरू। Google Play प्रयोग गर्नुभएकोमा धन्यवाद। Google Play भनेको 1600 Amphitheatre Parkway, Mountain View, California 94043, USA मा अवस्थित Google LLC ("Google", "हामी" वा "हामीलाई") ले प्रदान गर्ने एक सेवा हो। यसमार्फत उपलब्ध हुने Google Play तथा एपहरू (Android इन्स्टेन्ट एपहरू लगायत), सिस्टमका सेवा, खेल, चलचित्र, पुस्तक, पत्रिका वा अन्य डिजिटल सामग्री वा सेवाहरू ("सामग्री" भनी उल्लेख गरिएको), को तपाईंले गर्ने प्रयोग Google Play का यी सेवाका सर्तहरू (“Play ToS”) र Google का सेवाका सर्तहरू ("Google ToS") ( संयुक्त रूपमा "सर्तहरू" भनी उल्लेख गरिएको) अन्तर्गत पर्छ। Google Play भनेको Google ToS मा व्याख्या गरिएअनुसारको "सेवा" हो। Play ToS र Google ToS बाझिएको खण्डमा Play ToS लागू हुने छ।

२. तपाईंले गर्ने Google Play को प्रयोग

सामग्रीमाथिको पहुँच र त्यसको प्रयोग। तपाईंले आफ्नो मोबाइल, कम्प्युटर, टि.भी., घडी वा अन्य समर्थित डिभाइसहरू ("डिभाइस") मा सामग्री ब्राउज गर्न, पत्ता लगाउन, हेर्न, स्ट्रिम गर्न वा डाउनलोड गर्नका लागि Google Play को प्रयोग गर्न सक्नुहुन्छ। Google Play प्रयोग गर्नका लागि तपाईंसँग सम्बन्धित सामग्रीको सिस्टम तथा कम्प्याटिबिलिटीसम्बन्धी मापदण्डहरू पूरा गर्ने डिभाइस, राम्रोसँग चल्ने इन्टरनेटमाथिको पहुँच र उपयुक्तसफ्टवेयर आवश्यक पर्ने छ। सामग्री र सुविधाहरूको उपलब्धता विभिन्न देश अनुसार फरक पर्ने छ, अर्थात् सबै सामग्री वा सुविधाहरू तपाईंको देशमा उपलब्ध नहुन सक्छन्। केही सामग्री परिवारका सदस्यहरूसँग आदान-प्रदान गर्नका लागि उपलब्ध हुन सक्छन्। सामग्रीहरु Google स्वयंले प्रदान गर्न पनि सक्छ वा Google सँग आबद्ध नरहेका तेस्रो-पक्षहरूले उपलब्ध गराउन सक्छन्। Google Play मार्फत उपलब्ध गराइएको तर Google देखि बाहेकका अन्य स्रोतबाट उत्पत्ति भएको सामग्रीका लागि Google जवाफदेही हुँदैन न त यसको समर्थन नै गर्छ।

उमेरको बन्देज। Google Play को प्रयोग गर्न तपाईंसँग अनिवार्य रूपमा कुनै मान्य Google खाता ("Google खाता") हुनुपर्छ जसमा निम्न बमोजिमको उमेरको बन्देज लागू हुन्छ। तपाईं आफ्नो देशमा नाबालिग मानिनुहुन्छ भने, Google Play को प्रयोग गर्न र यी सर्तहरू स्वीकार गर्न तपाईंले अनिवार्य रूपमा आफ्ना अभिभावक वा कानुनी संरक्षकको अनुमति लिनु पर्छ। तपाईंले Google Play का विशेष सामग्री वा सुविधाहरूको प्रयोगमा लागू हुने उमेरसम्बन्धी कुनै पनि अतिरिक्त बन्देजहरूको पालना गर्नुपर्छ। पारिवारिक प्रबन्धक तथा परिवारका सदस्यहरूले अनिवार्य रूपमा यी अतिरिक्त आवश्यकताहरू पनि पूरा गर्नु पर्छ।

तेस्रो-पक्षीय शुल्कहरू। सामग्री तथा Google Play हेरेबापत र त्यसमाथि पहुँच राखेबापत तेस्रो पक्षहरू (जस्तै तपाईंको इन्टरनेट प्रदायक वा मोबाइल सेवा प्रदायक) लाई तिर्नुपर्ने कुनै पनि प्रकारको पहुँच वा डेटा शुल्क तिर्ने जिम्मेवारी तपाईंको हुने छ।

अपडेटहरू। Google Play, सम्बन्धित सहायतासम्बन्धी लाइब्रेरीहरू वा सामग्री अपडेट गर्नुपर्ने हुन सक्छन्, उदाहरणका लागि बग समाधान, परिष्कृत सुविधा, छुटेका प्लगइन र नयाँ संस्करणहरू (सामूहिक रूपमा "अपडेटहरू" भनिने)। Google Play को प्रयोग गर्न वा सामग्रीमा पहुँच राख्न, डाउनलोड गर्न वा प्रयोग गर्न यस्ता अपडेटहरू आवश्यक पर्न सक्छन्। यी सर्तहरूमा सहमति जनाएर वा Google Play को प्रयोग गरेर तपाईं यस्ता अपडेटहरू स्वतः प्राप्त गर्ने कुरामा सहमत हुनुहुन्छ। तपाईं Google Play का सेटिङहरू नामक मेनुमा गएर निश्चित सामग्रीका अपडेटहरू व्यवस्थापन गर्न सक्षम हुन सक्नुहुन्छ। अपडेटले सामग्रीसँग सम्बन्धित कुनै गम्भीर सुरक्षा जोखिम वा सञ्चालनसम्बन्धी गम्भीर समस्याको समाधान गर्ने छ वा दुरूपयोग रोक्ने छ भनी निर्धारित गरिएको अवस्थामा भने Google Play वा तपाईंको डिभाइसको अपडेटसम्बन्धी सेटिङहरूमा जुनसुकै विकल्प चयन गरिएको भए तापनि अपडेट कार्य पूरा गरिन सक्छ। सुरुमा Google Play बाट डाउनलोड गरिएको सामग्रीलाई कुनै अर्को एपको स्टोरले अपडेट गर्न खोजेको खण्डमा तपाईंले कुनै चेतावनी प्राप्त गर्न सक्नुहुन्छ वा त्यस्ता अपडेटहरू पूर्ण रूपमा रोकिन सक्छन्।

तपाईंबारे जानकारी। Google का गोपनीयता नीतिले Google Play को प्रयोग गर्दा हामी कसरी तपाईंको व्यक्तिगत डेटा व्यवस्थापन र गोपनीयताको रक्षा गर्छौँ भनी व्याख्या गर्छ। Google ले तपाईंका कारोबारहरूमाथि प्रक्रिया अघि बढाउने वा तपाईंलाई सामग्री प्रावधानीकरण गर्ने प्रयोजनका लागि प्रदायकहरूलाई तपाईंको नाम र इमेल ठेगाना जस्ता तपाईंको व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्ने हुनसक्छ। प्रदायकहरू यो जानकारी उनीहरूका आफ्नै गोपनीयता नीतिहरूबमोजिम प्रयोग गर्न सहमत छन्।

तपाईं Google Play को कुनै पारिवारिक समूहभित्र हुनुहुन्छ भने तपाईंको परिवारका सदस्यहरूले तपाईंका बारे निश्चित जानकारी हेर्न सक्ने छन्। तपाईं Google Play को कुनै पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने तपाईंले परिवारिक समूहमा सामेल हुन आमन्त्रित गर्नुभएका सदस्यहरूले तपाईंको नाम, तस्बिर र इमेल ठेगाना हेर्न सक्ने छन्। तपाईं प्रबन्धकका रूपमा कुनै पारिवारिक समूहमा सामेल हुनुभएको खण्डमा परिवारिक समूहका अन्य सदस्यहरूले तपाईंको नाम, तस्बिर र इमेल ठेगाना हेर्न सक्ने छन्। तपाईंको पारिवारिक प्रबन्धकले सम्भवतः तपाईंको उमेरका साथै तपाईंले तोकिएको पारिवारिक भुक्तानी विधिको प्रयोग गरी खरिद गर्नुभएको सामग्रीको विवरणलगायत सबै खरिदहरूको अभिलेख हेर्न पनि सक्नु हुन्छ। कुनै सामग्री परिवारसँग आदान-प्रदान गर्न उपलब्ध रहेको र तपाईंले त्यसलाई पारिवारिक समूहसँग आदान-प्रदान गर्नुहुन्छ भने परिवारका सबै सदस्यहरूले उक्त सामग्रीमाथि पहुँच राख्न र सो खरिद तपाईंले गर्नुभएको थियो भनी हेर्न सक्ने छन्।

खाताहरूमा गरिने अनधिकृत पहुँच। तपाईंले अनिवार्य रूपमा आफ्नो खाताको विवरण सुरक्षित राख्नुपर्छ र त्यसलाई अरू कसैसँग आदान-प्रदान गर्नु हुँदैन। तपाईंले Google Play मार्फत Google Play को कुनै पनि प्रयोगकर्ता वा Google का अन्य सेवाहरूको प्रयोगकर्ताको खाताका नामहरूलगायत कुनै पनि प्रकारका व्यक्तिगत डेटा सङ्कलन वा सञ्चय गर्नु हुँदैन।

असक्षम पारिएका खाताहरू। Google ले सर्तहरू (उदाहरणका लागि, तपाईंले सर्तहरूको उल्लङ्घन गर्नुभएमा), मुताबिक तपाईंको खातामाथिको पहुँच असक्षम पारेको खण्डमा Google Play, तपाईंको खाताको विवरण वा तपाईंको खातामा भण्डारण गरिएका कुनै पनि फाइल वा अन्य सामग्रीमाथिको तपाईंको पहुँच रोकिन सक्छ। थप जानकारीका लागि मद्दत केन्द्र हेर्नुहोस्। तपाईं Google Play को कुनै पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने Google ले तपाईंको खातामाथिको पहुँच असक्षम पारेको खण्डमा तपाईंको परिवारका सदस्यहरूले पारिवारिक भुक्तानी विधि, पारिवारिक सदस्यताहरू वा परिवारका सदस्यहरूबीच आदान-प्रदान गरिएको सामग्री जस्ता पारिवारिक समूह आवश्यक पर्ने किसिमका पारिवारिक सुविधाहरूमाथिको पहुँच गुमाउन सक्छन्। तपाईं Google Play को कुनै परिवारको सदस्य हुनुहुन्छ भने Google ले तपाईंको खाता असक्षम पारेको खण्डमा तपाईंको परिवारका सदस्यहरूले तपाईंले उनीहरूसँग आदान-प्रदान गर्नुभएको सामग्रीमाथिको पहुँच गुमाउने छन्।

मालवेयरबाट सुरक्षा। तपाईंलाई मालवेयरयुक्त तेस्रो पक्षीय सफ्टवेयर, URL र अन्य सुरक्षासम्बन्धी समस्याहरूबाट सुरक्षित राख्नका लागि Google ले तपाईंको डिभाइसको नेटवर्क जडान, सम्भावित हानिकारक URL हरू, अपरेटिङ सिस्टमका साथै तपाईंको डिभाइसमा Google Play वा अन्य स्रोतहरूबाट स्थापना गरिएका एपहरूसम्बन्धी जानकारी प्राप्त गर्न सक्छ। कुनै एप वा URL असुरक्षित छ जस्तो लागेमा Google ले तपाईंलाई सतर्क गराउन सक्छ तर त्यस्तो एप डिभाइस, डेटा वा प्रयोगकर्ताहरूका लागि हानिकारक छ भनी थाहा भएको खण्डमा भने Google ले त्यसलाई हटाउन वा तपाईंको डिभाइसमा त्यसको स्थापनामाथि रोक लगाउन सक्छ। तपाईंले आफ्नो डिभाइसको सेटिङहरूमा गएर यी सुरक्षाहरूमध्ये केहीलाई असक्षम पार्ने विकल्प रोज्न सक्नुहुन्छ, यद्यपि, Google ले Google Play मार्फत स्थापना गरिएका एपहरूबारे जानकारी प्राप्त गर्ने क्रम जारी राख्न सक्छ भने अन्य स्रोतहरूबाट तपाईंको डिभाइसमा स्थापना गरिएका एपहरूलाई पनि Google लाई जानकारी नपठाइकनै सुरक्षासम्बन्धी समस्याहरूका लागि विश्लेषण गरिने क्रम जारी रहन सक्छ।

Android इन्स्टेन्ट एपहरू। तपाईंले आफ्नो डिभाइसबाट कुनै लिंकमा क्लिक गर्दा, Google Play ले कुनै उपयुक्त इन्स्टेन्ट एप विद्यमान छ कि छैन भनी जाँच गर्न, र त्यस्तो एप रहेको खण्डमा, सो लिंकलाई उक्त इन्स्टेन्ट एपभित्रै खोल्न सक्छ। तपाईंले पहुँच राख्ने इन्स्टेन्ट एपका अंशहरू चल्नका लागि आवश्यक पर्ने सबै कोड तपाईंको डिभाइसमा डाउनलोड गरिने छ र त्यसलाई अस्थायी रूपमा त्यहाँ राखिने छ। इन्स्टेन्ट एपसम्बन्धी विवरण Google Play स्टोरमा फेला पार्न सकिन्छ। Android इन्स्टेन्ट एपहरूका डेटा र सेटिङहरू तपाईंको Google खाताको प्रयोग गरी साइन इन गरिएका डिभाइसहरूसँग सिंक गरिन्छन्। तपाईं आफ्नो डिभाइसका सेटिङहरूमा गई Android का इन्स्टेन्ट एपहरू असक्षम पार्ने विकल्प रोज्न सक्नुहुन्छ।

यी सर्तहरू परिवर्तन गरिँदा। Play ToS परिवर्तन गरिएको खण्डमा तपाईंलाई कम्तीमा ३० दिनको सूचना दिइने छ र नयाँ Play ToS यो सूचनाको अवधि समाप्तिपछि लागू हुने छन्। त्यस्तो सूचनाको अवधि समाप्तिपछि पनि तपाईंले Google Play को प्रयोग जारी राख्नुहुन्छ भने तपाईंले नयाँ Play ToS स्वीकार गर्नुभएको मानिने छ। नयाँ Play ToS तपाईंले प्रयोग गर्ने सबै सामग्री (तपाईंले विगतमा स्थापना वा खरिद गर्नुभएको सामग्रीसहित) का साथै भविष्यमा गर्नुहुने सबै स्थापना वा खरिदहरूमा पनि लागू हुने छन्। तपाईं त्यस्ता परिवर्तनहरूमा सहमत नहुनुभएको खण्डमा तपाईंलाई आफूले विगतमा खरिद वा स्थापना गरेको सामग्री डाउनलोड गर्ने तथा Google Play को प्रयोग खारेज गर्ने अवसर प्रदान गरिने छ। तपाईं Play ToS को आफू सहमत रहेको अन्तिम संस्करणबमोजिम सामग्रीको उक्त प्रतिलिपि हेर्ने कार्य जारी राख्न सक्नुहुन्छ।

३. खरिद तथा भुक्तानीहरू

निःशुल्क सामग्री। Google ले तपाईंलाई Google Play मा निः शुल्क सामग्री डाउनलोड गर्न, हेर्न वा प्रयोग गर्न दिन सक्छ। तपाईंले गर्ने निश्चित निःशुल्क सामग्रीको प्रयोग र पहुँचमा अतिरिक्त सीमितताहरू लागू हुन सक्छन्।

सामग्रीको खरिद। तपाईंले Google Play मा वा त्यसको प्रयोग गरी सामग्री खरिद गर्दा, तपाईं उक्त सामग्रीको विक्रेतासँग गरिने यी सर्तहरू (लागू हुने हदसम्म) मा आधारित एउटा बेग्लै बिक्री सम्झौताको एक पक्ष बन्नुहुने छ, जुन तलका दुईमध्ये कुनै एक हुने छ:

(क) LLC/GCL/Google Ireland Limited; वा

(ख) सामग्रीका प्रदायक ("प्रदायक"), (LLC/GCL/Google Ireland Limited ले प्रदायकको एजेन्टको भूमिका निर्वाह गरेको अवस्था लगायतमा।

यी सर्तहरूका अतिरिक्त यो बिक्री सम्झौता पनि थप लागू हुन्छ।

Google ले प्रदायकको एजेन्टको भूमिका निर्वाह गरेका बिक्रीहरूका हकमा Google ToS मा रहेको Google ToS ले "कुनै पनि तेस्रो पक्षीय लाभग्राहीका अधिकारहरू सिर्जना गर्दैनन्" भन्ने विवरण तपाईंले गर्ने Google Play को प्रयोगमा लागू हुँदैन।

तपाईंले Google बाट आफूले सामग्री खरिद गरेको पुष्टि गर्ने इमेल प्राप्त गरेपछि सामग्रीको खरिद तथा प्रयोगसम्बन्धी तपाईंको सम्झौता पूरा हुन्छ र खरिद कार्य पूरा हुने बित्तिकै यो सम्झौता लागू हुन सुरु हुन्छ।

अग्रिम अर्डरहरू। तपाईंले कुनै सामग्री अग्रिम रूपमा अर्डर गर्दा, तपाईंलाई उक्त सामग्री उपलब्ध गराएपछि उक्त वस्तुको खरिद तथा प्रयोगसम्बन्धी तपाईंको सम्झौता पूरा हुन्छ र सोही बखत उक्त खरिद गरेबापत तपाईंलाई शुल्क लगाइने छ। तपाईंले सामग्री उपलब्ध नभइञ्जेलसम्म आफ्नो अग्रिम अर्डर जुनसुकै बेला पनि रद्द गर्न सक्नुहुन्छ। Google Play मार्फत उपलब्ध गराइनुअघि नै सामग्री फिर्ता लिइएको खण्डमा हामीले तपाईंको अग्रिम अर्डर रद्द गर्नुपर्ने हुन्छ र तपाईंको अर्डर पूरा गर्नुअघि नै मूल्यमा परिवर्तन भएको अवस्थामा हामी तपाईंको अर्डर रद्द गर्ने अधिकार सुरक्षित राख्छौँ।

पारिवारिक भुक्तानी विधि। तपाईं Google Play को पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने तपाईंले आफ्नो परिवारका सदस्यहरूले Google Play मा वा एपभित्र खरिद गर्दा प्रयोग गर्नका लागि कुनै मान्य पारिवारिक भुक्तानी विधि सेटअप गर्न आवश्यक हुने छ। तपाईं आफ्नो परिवारका सबै सदस्यहरूले पारिवारिक भुक्तानी विधिको प्रयोग गरी गर्ने खरिदहरूका लागि उत्तरदायी हुनुहुने छ। पारिवारिक समूह मेटाइएको वा परिवारको कुनै सदस्यले पारिवारिक समूह छाडेको खण्डमा परिवारका सदस्यहरूले पारिवारिक भुक्तानी विधिको प्रयोग गरी गरेका विचाराधीन खरिदहरूको शुल्क तपाईंले व्यहोर्नुपर्ने हुनसक्छ।

Google Payments। Google Play मार्फत सामग्री खरिद गर्नको लागि तपाईंसँग अनिवार्य रूपमा कुनै Google Payments खाता हुनुका साथै तपाईं Google Payments का सेवाका सर्तहरू मा सहमत हुनुपर्छ। तपाईंले जहिलेसुकै Google Payments खाताको प्रयोग गरी सामग्री खरिद गर्दा Google Payments को गोपनीयतासम्बन्धी सूचना लागू हुन्छ। तपाईंले Google Payments खाताको प्रयोग गरी Google Play मार्फत गरिएका खरिदहरूबापत तिर्नुपर्ने सम्पूर्ण रकमको जिम्मेवारी तपाईंको हुन्छ।

भुक्तानी प्रक्रियाका अन्य विधिहरू। Google Play मार्फत गरिने खरिद प्रक्रियालाई सहज तुल्याउनका लागि Google ले Google Payments का अतिरिक्त भुक्तानी प्रक्रियाका अन्य विभिन्न विधिहरू उपलब्ध गराउनसक्छ। तपाईंले अनिवार्य रूपमा आफूले गर्ने उल्लिखित भुक्तानी प्रक्रियाका विधिहरूको प्रयोगलाई नियन्त्रण गर्ने Google वा तेस्रो पक्षसङँ सम्बन्धित सर्तहरू वा अन्य कानुनी सम्झौताको पालना गर्नु पर्छ। Google ले स्वविवेकको प्रयोग गरी भुक्तानी प्रक्रियाका विधिहरू थप्न वा हटाउन सक्छ। तपाईंको Google Play मा गर्नुभएका खरिदहरूबापत तिर्नुपर्ने सम्पूर्ण रकमको एकल जिम्मेवारी तपाईंकै हुन्छ।

सेवा प्रदायकमार्फत गरिने बिलिङ सुविधाको योग्यता तपाईंले आफ्ना डिभाइसहरूमार्फत गर्नुभएको सामग्रीको खरिद तपाईंको नेटवर्क प्रदायकको खातामा बिल गर्न योग्य छ या छैन भनी निर्धारण गर्नका लागि तपाईंले कुनै डिभाइसमा Google Play खाता सिर्जना गर्दा हामी सदस्यता ID र SIM कार्डको क्रम सङ्ख्या जस्ता डिभाइसका परिचायकहरू तपाईंको नेटवर्क प्रदायकलाई पठाउने छौँ। यो कार्यको लागी अनुमति दिन तपाईंले नेटवर्क प्रदायकका सेवाका सर्तहरूमा सहमति जनाउन आवश्यक छ। नेटवर्क प्रदायकले हामीलाई तपाईंको बिलिङ ठेगानासम्बन्धी जानकारी पठाउन सक्छ। हामी यो जानकारीलाई Google का गोपनीयता नीतिहरू र Google Payments को गोपनीयतासम्बन्धी सूचना बमोजिम व्यवस्थापन र प्रयोग गर्ने छौँ।

मूल्य। Google Play मा देखाइएका सम्पूर्ण सामग्रीको मूल्य र उपलब्धता खरिद गर्नुअघि जुनसुकै बेला परिवर्तन हुन सक्छन्।

करहरू। "करहरू" भन्नाले सामग्रीको बिक्रीसँग सम्बद्ध कुनै पनि प्रकारका शुल्क, भन्सार दस्तुर, महसुल वा करहरू (आयकरबाहेक) तथा त्यससँग सम्बन्धित जरिवाना वा ब्याज समेतलाई बुझाउँछ। सम्पूर्ण करहरू तिर्ने जिम्मेवारी तपाईंको हुन्छ र सामग्रीको मूल्य तिर्दा कर कट्टा नगरी तिर्नुपर्छ। सामग्रीको बिक्रेता वा Google कर सङ्कलन गर्न वा तिर्न बाध्य भएको खण्डमा तपाईंसँग त्यस्तो कर लिइने छ। तपाईंले Google Play को प्रयोग गर्दा वा Google Play मा वा यसमार्फत सामग्रीको खरिद गर्दा लाग्न सक्ने कुनै पनि करहरूको विवरण बुझाउने र भुक्तानी गर्नेलगायत करसम्बन्धी कुनै वा सबै प्रचलित कानुनहरूको अनिवार्य रूपमा पालना गर्नु पर्छ। त्यस्ता लागू हुने कुनै पनि करहरूको विवरण बुझाउनु र भुक्तानी गर्नु तपाईंको जिम्मेवारी हो।

सबै खरिदहरू अन्तिम हुन्छन्l फिर्ता लिने, रद्द गर्ने वा खरिद फिर्ता गरी रकम फिर्ता लिनेसम्बन्धी आफ्ना अधिकारहरूबारे थप जानकारीका लागि रकम फिर्ता गर्नेसम्बन्धी नीति हेर्नुहोस्। Google ToS, Google Play का रकम फिर्ता गर्नेसम्बन्धी नीति वा प्रदायकका रकम फिर्ता गर्नेसम्बन्धी नीतिहरूमा स्पष्ट रूपमा व्याख्या गरिएदेखि बाहेकका सबै खरिदहरू अन्तिम हुन्छन् र कुनै पनि फिर्ता, प्रतिस्थापन वा रकम फिर्ता गर्ने अनुमति हुँदैन। कुनै पनि कारोबारमा कुनै पनि प्रकारका प्रतिस्थापन, फिर्ता वा रकम फिर्ता गर्ने अनुमति दिइएको खण्डमा सो कारोबार उल्टाइन सक्छ र तपाईंले सो कारोबारमार्फत प्राप्त गर्नुभएको सामग्रीमाथि अब उप्रान्त पहुँच राख्न नपाउन सक्नुहुन्छ।

सदस्यताहरू। सदस्यताहरू लिएबापत हरेक बिलिङ अवधि (साप्ताहिक, मासिक, वार्षिक वा अन्य कुनै अवधि) मा स्वतः शुल्क लगाइने छ र तपाईंबाट हरेक बिलिङ अवधि सुरु हुनुभन्दा बढीमा २४ घन्टाअघि शुल्क लिइन सक्छ।

(क) परीक्षण समय। कुनै निश्चित रकममा सामग्रीको सदस्यता लिँदा तपाईंले तोकिएको परीक्षण अवधिभरका लागि बिना कुनै शुल्क सदस्यताका लाभहरू प्राप्त गर्न सक्नुहुन्छ, जुन अवधि सकिएपछि तपाईंले आफ्नो सदस्यता रद्द नगरेसम्म तपाईंलाई शुल्क लगाइने छ। शुल्क लाग्नबाट जोगिन तपाईंले अनिवार्य रूपमा परीक्षण अवधि सकिनुअघि नै आफ्नो सदस्यता रद्द गर्नु पर्छ। अन्यथा उल्लेख गरिएदेखि बाहेक आफ्नो परीक्षण रद्द गरेपछि तपाईंले उक्त एपमाथिको आफ्नो पहुँच र सदस्यतासम्बन्धी कुनै पनि विशेषाधिकारहरू तुरुन्तै गुमाउनु हुने छ। त्यस्ता परीक्षण अवधिमाथिको पहुँचलाई हरेक प्रयोगकर्ताले तोकिएको अवधिमा केही निश्चित सङ्ख्यामा परीक्षणहरू गर्न सक्ने गरी वा अरू प्रकारका बन्देजहरूमार्फत सीमित गरिएको हुनसक्छ।

(ख) रद्द गर्ने कार्य। तपाईंले मद्दत केन्द्र मा व्याख्या गरिएअनुसार लागू हुने बिलिङ अवधि सकिनुअघि जुनसुकै बेला सदस्यता रद्द गर्न सक्नुहुन्छ र सो खारेजी अर्को बिल भुक्तानी अवधिको लागी लागू हुने छ। उदाहरणका लागि, तपाईंले कुनै मासिक सदस्यता खरिद गर्नुभएको भएको खण्डमा तपाईं उक्त सदस्यतालाई सदस्यता जारी रहेको जुनसुकै महिनाको जुनसुकै बेला रद्द गर्न सक्नुहुन्छ र उक्त सदस्यता तत्कालीन बिलिङ अवधिको अन्त्यमा रद्द हुने छ। Google Play को रकम फिर्तासम्बन्धी नीति मा अन्यथा उल्लेख गरिएको (उदाहरणका लागि सामग्री त्रुटिपूर्ण भएको अवस्था) देखि बाहेक तपाईंले वर्तमान बिलिङ अवधिको रकम फिर्ता प्राप्त गर्नुहुने छैन।

(ग) छापा माध्यमका सदस्यहरूका लागि छुट। तपाईं छापा माध्यमको पत्रिकाको सदस्य रहनुभएको खण्डमा केही पत्रपत्रिकाका प्रदायकहरूले तपाईंलाई Google Play मा पत्रिकाको सामग्री छुट दरमा खरिद गर्ने सुविधा दिन सक्छन्। तपाईंले उक्त पत्रिकाको छापा माध्यमको सदस्यता रद्द गर्नुभयो वा छापा माध्यमको सदस्यताको म्याद सकिएपछि तपाईंले त्यसको नवीकरण गर्नुभएन भने Google Play मा उक्त सामग्रीको तपाईंको छुट दरको सदस्यता स्वतः रद्द हुने छ।

(घ) मूल्यमा हुने परिवर्तनहरू । तपाईंले कुनै सदस्यता खरिद गर्दा तपाईंलाई सुरुवाती रूपमा सदस्यता लिनेसम्बन्धी तपाईंले गर्नुभएको सम्झौताको समयमा लागू रहेको दरअनुसार शुल्क लगाइने छ। पछि गएर सदस्यताको शुल्कमा बृद्धि भएको खण्डमा Google ले तपाईंलाई यसबारे सूचित गराउने छ। बढेको शुल्क सूचना दिइएपश्चात् तपाईंको अर्को भुक्तानी गर्ने समयमा लागू हुन्छन्, यसका लागि शुल्क लगाइनुअघि तपाईंलाई कम्तीमा १० दिनको अग्रिम सूचना दिइएको हुनुपर्छ। तपाईंलाई १० दिनभन्दा कमको अग्रिम सूचना दिइएको खण्डमा बढेको शुल्क अर्को भुक्तानी मितिपछिको भुक्तानीसम्म लागू हुँदैन। यदि तपाईं सदस्यताको बढेको शुल्क तिर्न चाहनुहुन्न भने यी सर्तहरूको रद्द गर्ने कार्य नामक खण्डमा व्याख्या गरिएअनुसार सदस्यता रद्द गर्न सक्नुहुन्छ। यसो गर्नुभएमा तपाईंलाई सदस्यताबापत थप शुल्कहरू लगाइने छैन, यसका लागि तपाईंले हामीलाई वर्तमान बिलिङ अवधिको अन्त्यमा यसबारे सूचित गराएको हुनुपर्छ। प्रदायकले सदस्यताको मूल्यमा बृद्धि गरेको र यसका लागि सहमतिको आवश्यकता पर्ने भएमा तपाईंले नयाँ मूल्यमा सहमति जनाएको अवस्थामा बाहेक Google ले तपाईंको सदस्यता रद्द गर्न सक्छ। तपाईंको सदस्यता रद्द गरियो र तपाईंले पछि फेरि सदस्यता लिने निर्णय गर्नुभएको खण्डमा तपाईंलाई त्यतिबेला हुन आउने सदस्यताको दर अनुसार शुल्क लगाइने छ।

४. अधिकार तथा बन्देजहरू

सामग्रीको प्रयोग गर्ने इजाजतपत्र। कुनै कारोबार पूरा गरेपछि वा सामग्रीका लागि तिर्नुपर्ने शुल्क तिरेपछि तपाईंले केवल यी सर्तहरू तथा सम्बन्धित नीतिहरूमा स्पष्ट रूपमा अनुमति दिइएअनुसार गैर-विशेष रूपमा भण्डारण गर्ने, पहुँच राख्ने, हेर्ने, प्रयोग गर्ने र आफ्नो डिभाइसमा उपयुक्त सामग्रीको प्रतिलिपि प्रदर्शन गर्ने वा तपाईंको व्यक्तिगत, गैर-व्यापारिक प्रयोजनका लागि अन्य रूपमा प्रयोग गर्ने अधिकार प्राप्त गर्नु हुने छ। यी सर्तहरूमा तपाईंलाई स्पष्ट रूपमा प्रदान नगरिएका Google Play र सामग्रीका सबै अधिकारहरू, शीर्षक तथा चासोहरू आरक्षण गरिएका छन्। तपाईंले गर्ने एप र खेलहरूको प्रयोगलाई तपाईं र प्रदायकका बीचमा गरिएको अन्तिम प्रयोगकर्तासम्बन्धी इजाजतपत्रको सम्झौताका अतिरिक्त सर्तहरूले नियन्त्रित गर्न सक्छन्।

इजाजतपत्रका सर्तहरूको उल्लङ्घन। तपाईंले यी सर्तहरूमध्ये कुनै पनि सर्तको उल्लङ्घन गर्नुभएको खण्डमा यस इजाजतपत्रअन्तर्गत तपाईंले प्राप्त गर्ने अधिकारहरू तुरुन्तै खारेज हुने छन् र Google ले तपाईंलाई रकम फिर्ता नदिइकनै Google Play, सामग्री वा Google खातामाथिको तपाईंको पहुँच खारेज गर्न सक्छ।

बन्देजहरू: तपाईं निम्न कुराहरू गर्न सक्नुहुन्न:

तेस्रो-पक्षीय प्रावधानहरू। यी सर्तहरूमा उल्लेख गरिएका कुनै पनि कुराहरू बाहेक Google मा आफ्नो सामग्रीको इजाजतपत्र प्रदान गर्ने तेस्रो पक्षहरू उनीहरूको सामग्रीसँग सीधै सम्बन्ध राख्ने यी सर्तका विशेष प्रावधानहरूका हकमा मात्रै र त्यस्ता तेस्रो पक्षहरूलाई उक्त सामग्रीमाथिको आफ्नो अधिकार लागू गर्ने प्रयोजनका लागि मात्रै यी सर्तहरूअन्तर्गत लक्षित तेस्रो पक्षीय लाभग्राहीहरू मानिन्छन् ("तेस्रो-पक्षीय प्रावधानहरू")। दुविधा निवारणका लागि, तेस्रो-पक्षीय प्रावधानहरूभन्दा बाहिरका कुनै पनि प्रावधानका सम्बन्धमा यी सर्तहरूमा उल्लेख गरिएका कुनै पनि कुराहरूले कुनै पनि पक्षलाई तेस्रो-पक्षीय लाभग्राहीका अधिकारहरू प्रदान गर्दैनन्, यस्ता प्रावधानहरूअन्तर्गत यी सर्तहरूमा सन्दर्भद्वारा समावेश गरिएका कुनै पनि प्रावधान वा सम्झौताहरू वा समावेश नगरिकनै सन्दर्भ गरिएका प्रावधानहरूलगायत अरू प्रावधानहरू पर्न सक्छन्।

Play का नीतिहरू। Google Play मा समीक्षाहरू पोस्ट गर्ने कार्य निम्न नीतिहरूअन्तर्गत पर्छ। तपाईं दुर्व्यवहार वा कुनै अन्य प्रकारका सामग्रीसम्बन्धी उल्लङ्घनहरूको रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्।

त्रुटिपूर्ण सामग्री। तपाईंलाई आफ्नो खातामार्फत सामग्री उपलब्ध गराइपछि, तपाईंले जतिसक्दो छिटो उक्त सामग्रीले भनिए बमोजिम काम गर्छ भन्ने कुरा सुनिश्चित गर्नका लागि त्यसको जाँच गर्नु पर्छ। त्यसमा कुनै त्रुटि वा दोष फेला पार्नुभएको खण्डमा तपाईंले जतिसक्दो चाँडो हामीलाई वा सामग्रीको प्रदायकलाई सूचित गर्नु पर्छ। थप जानकारीका लागि Google Play को रकम फिर्ता गर्नेसम्बन्धी नीति हेर्नुहोस्।

सामग्री हटाउने कार्य वा त्यसको अनुपलब्धता। यी सर्तहरूमुताबिक, Google सँग कुनै सामग्री तपाईंलाई उपलब्ध गराउने अधिकार रहेसम्म तपाईंले खरिद वा स्थापना गर्नुभएको सामग्री भाडामा लिइएको अवस्थामा वा अन्य अवस्थाहरूमा तपाईंले चयन गर्नुभएको अवधिका लागि Google Play मार्फत तपाईंलाई उपलब्ध गराइने छ। केही निश्चित परिस्थितिहरूमा (उदाहरणका लागि, Google ले सम्बन्धित अधिकारहरू गुमाएको, कुनै सेवा वा सामग्रीको निरन्तरता भङ्ग भएको, सुरक्षासम्बन्धी जोखिमपूर्ण समस्याहरू भएको वा लागू सर्त वा कानुनका उल्लङ्घनहरू भएको), Google ले तपाईंले खरिद गर्नुभएको निश्चित सामग्री तपाईंको डिभाइसबाट हटाउन वा उपलब्ध गराउने क्रम बन्द गर्नसक्छ। Google Ireland Limited ले बिक्री गरेका सामग्रीको हकमा, तपाईंलाई सम्भव भएसम्म उक्त प्रकारका सामग्री हटाउने वा सेवा बन्द गर्ने कार्यबारे सूचना दिइनसक्छ। तपाईं उक्त प्रकारका सामग्री हटाउने वा सेवा बन्द गर्ने कार्यअघि सामग्रीको प्रतिलिपि डाउनलोड गर्न असमर्थ हुनुभएको खण्डमा Google ले तपाईंलाई यीमध्ये कुनै एक कुरा प्रस्ताव गर्न सक्छ (क) सम्भव भएसम्म उक्त सामग्रीको प्रतिस्थापन वा (ख) सामग्रीको मूल्यको पूर्ण वा आंशिक रकम फिर्ता। Google ले तपाईंलाई रकम फिर्ता गरेको खण्डमा उक्त रकम नै तपाईंका लागि एकमात्र क्षतिपूर्ति हुने छ।

एकभन्दा बढी खाताहरू। तपाईंसँग भिन्न प्रयोगकर्ताको नाम गरेका एकभन्दा बढी Google खाताहरू भएको खण्डमा केही परिस्थितिहरूमा तपाईं एउटा खातामा भएको सामग्रीलाई अर्को खातामा स्थानान्तरण गर्न सक्नुहुन्छ, यसका लागि हरेक त्यस्ता खाताको स्वामित्व तपाईंसँगै रहेको र Google ले सम्बन्धित सेवाहरूमा त्यस्ता स्थानान्तरणहरू गर्ने अनुमति दिने सुविधा सक्षम पारेको हुनुपर्छ।

प्रयोग गर्न सकिने डिभाइसहरूको सीमा। Google ले समय समयमा तपाईंले सामग्रीमाथि पहुँच राख्नका लागि प्रयोग गर्न सक्ने डिभाइस वा सफ्टवेयर एपहरूको सङ्ख्याको सीमा निर्धारण गर्नसक्छ। Google Play Movies & TV सम्बन्धी यी सीमाहरूका बारेमा थप जानकारीका लागि कृपया हाम्रो Google Play Movies & TV/Google TV का प्रयोगसम्बन्धी नियमहरू हेर्नुहोस्।

खतरनाक गतिविधिहरू। यीमध्ये कुनै पनि सेवाहरू वा सामग्री आणविक गृह, जीवन सहायता प्रणाली, आपत्‌कालीन सञ्चार, विमान नेभिगेसन वा सञ्चार प्रणाली, हवाई ट्राफिक नियन्त्रण प्रणालीलगायत सेवाहरू वा सामग्रीको विफलताले गर्दा मृत्यु, व्यक्तिगत चोटपटक वा गम्भीर भौतिक वा वातावरणीय क्षति हुनसक्ने प्रकारका अन्य कुनै पनि गतिविधिहरूमा प्रयोग गर्नका लागि लक्षित छैनन्।

Google Play Movies & TV/Google TV। तपाईंले गर्ने Google Play चलचित्र तथा TV को पहुँच र प्रयोगसम्बन्धी अतिरिक्त विवरण र बन्देजहरूबारे जान्न Google Play Movies & TV/Google TV का प्रयोगसम्बन्धी नियमहरू हेर्नुहोस्।